जोहनसबर्ग, जेठ ९ (एजेन्सी)- दक्षिण अफ्रिकाले विश्व फुटबल महासागरको आयोजना गर्न करोडौं डलर खर्च गरिसकेको छ। स्टेडियम र सडकहरू तयार गर्नका लागि दिइएको ठेक्कामा भने 'भाइ-भतिजावाद' को गम्भीर आरोप लगाइएको छ। त्यतिमात्र होइन, यसको विरोध गर्नेहरूले ज्यान मार्ने धम्की सुन्नु परिरहेको छ भने कतिले त कतिले ज्यानसमेत गुमाउनुपरेको छ।
'इन्स्टिच्युट फर सेक्युरिटी स्टडिज' को प्रतिवेदनमा यसको पुष्टि गर्दै लेखिएको छ, 'कुनै पनि ठूलो आयोजना भ्रष्टाचारीहरूका लागि घुस र धोकाले पैसा कमाउने राम्रो माध्यम बन्ने गर्छ।'
नेल्सप्रटमा बनाइएको नयाँ स्टेडियममा १३ करोड २० लाख डलर खर्च भएको छ, जसमा भ्रष्टाचारको सबैभन्दा बढी आरोप लगाइएको छ।
तीन वर्षअघि स्थानीय निकायका सभामुख जिम्मी मोलालाले दक्षिण अफ्रिकी फर्म बेसिल रिड र फ्रेन्च फर्म बायगेस ट्रावाक्स पब्लिक्सलाई दिइएको ठेक्काको अनुमतिमा भएको अनियमितताको प्रसंग उठाएका थिए। प्रारम्भिक रिपोर्ट प्राप्त भएपछि प्रान्तीय सरकारले सन् २००९ को फेब्रुअरीमा एउटा टोली गठन गर्दै छानबिन गर्ने निर्णय गरेको थियो। एक वर्षपछि मोलालालाई उनकै घरमा गोली हानी हत्या गरियो। यसै वर्ष पनि भएका अन्य केही राजनीतिज्ञको हत्यामा प्रहरीले जाँच गरिरहेको छ। विश्वकपका लागि दिइएको ठेक्काको विरोध गर्नेहरूलाई लक्ष्य बनाइँदै गरिएको खबर प्राप्त भएका छन्।
जोहनसबर्गस्थित विटवाटर्सरेड विश्वविद्यालयमा राजनीतिशास्त्रका प्रोफेसर एन्थोनी बटलरका अनुसार दक्षिण अफ्रिकामा हुन लागेको विश्वकपमा सबैभन्दा बढी समस्या नै 'भाइ-भतिजावाद' छ। उनले भने, 'सरकारीस्तरमा हुने हरेक ठेक्का राजनीतिक, निजी वा पापरिवारिक आधारमा दिइरहिएको छ। यसका लागि कुनै किसिमको स्वस्थ प्रतिस्पर्धा हुँदैन।'
दक्षिण अफ्रिकामा हितको टकराब एउटा आमसमस्या हो। किनभने यहाँ ५ हजारभन्दा बढी सरकारी कर्मचारीको निजी व्यवसाय पनि छ। राष्ट्रपति ज्याकोब जुमाले गत वर्ष पदभार सम्हालेपछि नै भ्रष्ट राजनीतिज्ञहरूको कडा आलोचना गरेका थिए। तर पछिल्लो वर्ष आमनिर्वाचनको ठीकअगाडि जुमाविरुद्ध घुसखोरीको मुद्दा फिर्ता लिइएको दक्षिण अफ्रिकीहरूलाई पनि राम्रैसँग थाहा छ। त्यस मुद्दा फिर्ता भएपछि जुमालाई सत्ता हासिल गर्न ठूलो मद्दत पुगेको थियो।

