
अरुणिमा लम्साल, अभिनेत्री- एकदमै राम्रो आवाज भएका गायक हुन् राजेशपायल राई। उनका धेरै गीत हिट हुन्छन्। फिल्ममा पनि उनले गाएको गीत धेरै हिट छन्।
त्यसैले उनको गीतमा नाच्न पाउनुलाई ठूलो सौभाग्य ठान्छु। सोमबार भएको टेलिअवार्डमा पनि उनकै आवाजको 'खोली सानो हुँदैन गाईले पानी पिएर' भन्ने गीतमा नाचेँ। एकदम मौलिक र रमाइलो लाग्यो त्यो गीत। गीतमा मलाई साथ दिने हिरो दिलिप रायमाझीले पनि यसको प्रशंसा गरे।
गीतलाई न्याय दिने हुनाले त्यसैले उनी सफल छन्। आवाज मिठो त छ नै जीवन्त लाग्ने गरी पनि गाउँछन्। रोमान्टिक र सेन्टिमेन्टल दुवै खाले गीतमा सुहाउँदा गायक हुन् उनी। उनले गाएका फिल्म 'सिलसिला'को 'सागरसरि चोखोमाया' र उनको एल्बमको 'दर्शन नमस्ते' गीत मलाई एकदम मनपर्छ।
उनको अर्को कला हो 'स्टेज पर्फमेन्स'। आफू त नाच्छन् नै साथमा दर्शकलाई समेत नचाउने उनको खुबी गजबको छ। मलेसियामा कार्यक्रम गर्न जाँदा मैले नजिकबाट उनको कला बुझ्न पाएँ।
फिल्म हिट बनाउने जस बोकेका गायक हुन् राजेश। म उनको गीतमा नाच्न पाइयोस् भन्ने इच्छा बोकेको कलाकार हुँ।

