The Third Eye
धीरज राई बम र गोलीको नजिक पुग्दा

आइतवार, 23 में 2010

 

हाम्रो गाडीको ब्रेक अचानक बेस्सरी घ्याच्च लाग्यो। पछाडि बसेकाहरू अगाडि हुत्तिएर ठोक्किन पुगे। म पनि अगाडिको सिसामा ठोक्किएँ। अगाडिका गाडीहरू 'पछाडि फर्क' भन्ने इशारा गर्दै हतार-हतार गाडी फर्काउँदै थिए। ड्याङ-ड्याङ र त्यसपछि एक्कासी ढ्वाङ्ग गर्दै ठूलो आवाज आयो। गोली र बमका आवाज थिए ती।

यो कुनै सपनाको घटना होइन। नेपालको युद्धकालको संस्मरण पनि होइन। केही हप्ताअघि प्यालेस्टाइनको बेथलेहम भन्ने ठाउँमा सामना गरेको त्रासदी हो यो। येशु जन्मिएको ठाउँ भए पनि बेथलेहम अशान्त छ। र त्यो अशान्तिको चपेटामा म पनि परेँ।

 
  नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुने कार्यक्रममा गीत गाउन नारद खतिवडाको बन्दोबस्तमा म इजरायल पुगेको थिएँ। तीन दिन 'धादिङ वाटर किङडम'को कार्यक्रममा बसेर म रातारात काठमाडौं आउनुपर्‍यो किनभने भोलिपल्ट बिहान ११ बजे मेरो फ्लाइट थियो। सिन्धु मल्ल, नारद र म उड्यौं।


फ्लाइट 'डिले' भएकोले कतारमा एक रात बस्यौं। त्यसपछि जोर्डनको अम्मानमा 'ट्रान्जिट' बस्दा 'सातोपुत्लो' उड्यो। इजरायल जान चार दिनको फ्लाइट छैन भन्ने खबर आयो। जबकि हाम्रो कार्यक्रम पर्सि र निकोपर्सि थियो। तनाव भयो। निकै बहस गरिसकेपछि थाहा भयो उनीहरूले हामीलाई हल्का 'चाटेका' मात्र रहेछन्। चारैतिर मुस्लिम देश रहेको र इजरायल मात्र बेग्लै राष्ट्र भएकोले सकेसम्म 'दुःख' दिने 'नियत' उनीहरूको रहेछ। हामी चेपुवामा पर्‍यौं।

बल्लबल्ब इजरायल पुग्यौं। एयरपोर्टमा आयोजक साथीहरू लिन आइपुगे। मलाई इजरायलका दुई ठाउँ पुग्ने ठूलो चाहना थियो। अंग्रेजी साहित्यको विद्यार्थी भएको नाताले येशु जन्मेको बेथलेहेम अनि देहावसान भएको जेरुसेलम पुग्ने तीव्र इच्छा थियो। एङग्लो स्याक्सन पिरियड, मिडिल इंग्लिस पिरियड, रेनासालगायत साहित्यका विभिन्न चरणमा क्रिस्चियन धर्मको ठूलो भूमिका छ।

काइनिवुल्फ र काइडमन जस्ता कविका कविताहरू र जोन मिल्टनको प्याराडाइज लस्ट र प्याराडाइज रिगेन्डजस्ता महान ग्रन्थहरू क्रिस्चियनिटीमा आधारित छन्। रेनासामा आएर 'तर्क' र 'कारण' बाट घटनालाई हेर्ने क्रम सुरु भयो। मानवलाई सीमान्तिकृत र ईश्वर केन्द्रितको धारणा केही हदसम्म बदलिए पनि साहित्यमा क्रिस्चियनिटीको प्रभाव गहिरो पर्दै आएको छ।
हाम्रो कार्यक्रम सिद्धिएपछि बेथलेहेम र जेरुसेलम घुम्दाको क्षण अविस्मरणीय भयो। 'चिसोले मलाई छिटो भेट्छ' भन्ने थाहा पाउँदा पाउँदै पनि मोटो ज्याकेट र सुइटर लगाउँदा फोटो नराम्रो आउने हुनाले न्यायो लुगा लगाइएन। त्यसै त साथीहरू मलाई 'वर्षैभरि ज्याकेट लगायने गायक' भनेर गिज्याउने गर्छन्। टिसर्ट लगाएर फोटोहरु खिचियो। जेरुसेलमको चिसोले 'झ्याप्पै' पार्‍यो। घाँटी दुखेर एक हप्तासम्म खाना निल्न बडो सास्ती भयो। हुन त इजरायल छिर्नु अघिदेखि नै 'लोदर' लागिरहेको थियो।

बेथलेहम पुग्दा भने यो साबित भयो। जेरुसेलमदेखि १० किलोमिटर दक्षिणमा प्यालेस्टाइनभित्र पर्ने यो ठाउँ धेरै फरक थियो। यो निकै पुरानो सहरजस्तो देखिन्थ्यो। युद्धका छिटा परेका साना साना घरहरू, लडाइँका घाउहरू अनि गरिबीको झिल्काहरू प्रशस्तै देखिन्थे।

यिनै दृश्यपान गर्दै गाडीमा हुइँकिरहेको बेला बम र गोलीको आवाज सुनेपछि हामी सबै जना आत्तियौं। फिल्मको पर्दामा यस्तो दृश्य रोमाञ्चक लागे पनि 'रियल लाइफ'मा भने त्रासपूर्ण हुँदोरहेछ।

पुलिसको गाडीमाथि एउटा ठूलो भीडले ढुंगा, गोली अनि सानो आकारका पटकाजस्ता विष्फोटक पदार्थहरू फाल्दै थिए। त्यो एक मिनेटको अवधि एक वर्ष झैं भयो। हामीले तुरुन्तै घर फर्कने इच्छा व्यक्त गर्‍यौं। तर ड्राइभरको अनुहार भने शान्त थियो।

'एक दुईजना मानिस मर्नु वा गोलीबारी चल्नु यहाँ सामान्य हो,' उनी भन्दै थिए। उनले त्यसपछि 'चोर' बाटोबाट हामीलाई येशुको जन्मस्थान पुर्‍याइदिए। एवं रीतले बडो कष्टका साथ फर्कियौं। पर्सिपल्ट नेपाल आइपुगेँ। आजकल मैले 'बीबीसी' र 'सीएनएन' टेलिभिजन निकै गम्भीरतापूर्वक हेर्ने गरेको छु।


----------------------------------------------------------------------------------------------------------------------------------

तपाईंको प्रतिकृया  
पूरा नाम *
ठेगाना *
ईमेल ठेगाना *
प्रतिकृया *
  Please Verify
क्याप्चा *
कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
 
Copyright © 2009 - 2010 The Third Eye. All rights reserved.