The Third Eye
हङकङे नेपाली युवाहरुको भ्यालेन्टाइन

हङकङ, माघ २९ - भ्यालेन्टाइन नजिकिदै जांदा वसन्ती पुनको मन फुरुङ्ग छ । 'यो वर्ष पनि करुन र म क्यान्डल लाइट डिनर जाने प्लानमा छौ,' भ्यालेन्टाइन डे कसरी मनाउने योजना बारेको सोधाइमा वसन्तीले अनुहार चम्किलो पार्दै भनिन् । २००६ की मिस ट्यालेन्ट मेगा मोड्ल उनलाई गतबर्षको भ्यालेन्टाइन सांझ अहिलेपनि ताजै रहेछ । 'पोहोर साल निकै रमाइलो भयो,' उनले फुर्किदै भनिन्, 'रेष्टुरेन्टको डेकोरेसन, लभ सङ्स, चकलेट, आइसक्रिम ! वाउ इट्स रियल्ली रोमान्टिक !'  धेरै जोडीहरु सँगै हुँदा अप्ठ्यारो लाग्दैन ? 'सबै कपलहरु आ-आफ्नै मुडमा हुन्छन्,' प्रश्नमा उनी निर्धक्क बोलिन्, 'खासै केयर हुँदैन । फेरि लाइट पनि त डिम हुन्छ, हु केयर्स ?' उनले यसो भनिरहँदा सँगै रहेका उनका ब्वाइफ्रेन्ड करुन गुरुङ मुस्कुराइ मात्र रहे । भने, 'म उनलाई सरप्राइज गिफ्ट दिनेछु ।' त्यो के हुनेछ ? 'भ्यालेन्टाइनमा आफ्नो जिएफलाई दिने गिफ्ट अरुलाई थाहा हुनु त भएन नि,' उनले भने ।

यी त भए हङकङेली युवाका प्रतिनिधि पात्र वसन्ती र करुनका कुरा । यिनले झै सात समुद्रपारिका सयौं नेपाली युवा जोडीले भ्यालेन्टाइन कसरी मनाउने भन्ने बारे योजना बुनिसकेका छन् । स्वदेशमै पनि तन्नेरीले ठूलै पर्वसरह मान्ने भ्यालेन्टाइन पश्चिमा संस्कृतिले छपक्कै छोपेको हङकङका तिनै युवा कसरी अछुतो रहन सक्थे र ! 

जोडी हुनेहरु मात्र होइन, नहुनेहरु पनि भ्यालेन्टाइनको तयारीमा छन् । यिनैमध्येकी हुन् पछिल्ली मिस पर्ल हङकङ नेपाल दीपा गुरुङ । दुई हप्ता अघि नै उनले भ्यालेन्टाइनको योजना बनाइसकेकी छन् । तर उक्त सांझ उनी मेगा मोडल वसन्ती झै क्यान्डल लाइट डिनरमा होइन, सम्भवतः कुनै रेष्टुरेन्टमा साथीभाइसँग ब्ल्याक (कालो) चकलेटको स्वाद लिँदै गरेकी हुनेछिन् । 'यो पटक मेरो भ्यालेन्टाइन नै छैन,' बिस वर्षीया लजाउँदै बोलिन्, 'ब्वाइफ्रेन्ड नभएका साथीहरु मिलेर ब्ल्याक चकलेट खाने योजनामा छौं ।' हङकङे चिनियांहरुमा जोडी हुनेले खैरो र नहुनेले कालो रंगको चकलेट खाने प्रचलन रहेको समेत उनले खुलाइन् । केही महिनाअघि जोडी टुटेका भएपनि दीपालाई भ्यालेन्टाइन डेटिङको अनुभव भने रहेछ । 'लास्ट इयर रेष्टुरेन्ट गएका थियौं,' उनी फ्ल्यासब्याकमा पुगिन्, 'मलाई उसले रेड रोज सँग मेकअप किट दिएको थियो ।' चौध फेब्रुअरीका दिनसम्म नयाँ प्रेमी बन्नसक्ने सम्भावनालाई समेत उनले नकारिनन् । 'मन पराउने धेरै छन्,' र्फम फाइभमा अध्ययनरत उनले भनिन्, 'कसैले सोझै प्रस्ताव राख्ने आँट भने गरेका छैनन् ।' दीपाको कुरा सकिन नपाउँदै छेवैमा रहेकी ज्योति बोलिन्, 'म मार्फत प्रस्ताव पठाउनेहरु थुप्रै छन् नि, मैले नभने कि पो हो त ।' वरिपरि हांसेाको फोहरा छुट्यो । त्यसो त दीपामार्फत ज्योतिलाई प्रस्ताव पठाउनेहरु पनि त होलान् नि ? 'छन् नि, किन नहुनु,' दीपाले भनिन्, 'उसलाई प्रस्ताव गर्ने त नेपाली मात्र होइन, स्थानीय चिनियां र फरेनरहरु पनि छन् ।' झण्डै दशक अघिदेखि हङकङमा बस्दै आएका पोखरेली दीपा र ज्योति स्थानीय चिनियां र अंगे्रजी राम्रो बोल्छन् । लवाइखवाइ पनि उस्तै भएपछि कुरा मिल्न के बेर ? 

ज्योतिलाई नेपाली र चिनियां दुवै प्रेमीसँग भ्यालेन्टाइन डेटिङको अनुभव रहेछ । तर सत्र वर्षीय उनी यसपटक भने दीपाजस्तै ब्ल्याक चकलेटको स्वाद लिनेमा परिछन् । 'चिनियां ब्वाइफ्रेन्ड थियो । अहिले ब्रेकअप भयो,' र्फम फोरमा अध्ययनरत उनले भनिन्, 'भ्यालेन्टाइनमा मैले रेड रोज, इयर रिङ र चकलेट पाएकी थिएँ ।'  चिनियांहरु बढी केयरिङ हुने अनुभव समेत उनले सुनाइन् । 'तर ऊसँग मात्र हिँडडुल गर्नुपर्ने चाहनाले हाम्रो कुरा मिलेन,' अब केही वर्ष पढाइमै ध्यान दिने बताउँदै उनले भनिन्, 'मलाई त फरेनर नै बढी मनपर्छ ।'

भ्यालेन्टाइनका दिन कतिजनासम्मले प्रपोज गरेका छन् त ? 'यस्तो कुरा पनि के भन्नु र खै ?' धराने सत्र वर्षीय सोनी लिम्बूले भनिन्, 'मलाई त सिधा प्रपोज गर्ने भन्दा अनलाइन प्रपोज गर्ने बढी छन् ।' ज्योतिले आफुलाई एकै दिन तीन जनाको प्रस्ताव आएको बताइन् । दीपालाई प्रस्ताव गर्नेको संख्या भने ज्योतिको भन्दा एक कम रहेछ । मनपर्ने साथीलाई प्रेमप्रस्ताव राख्न भ्यालेन्टाइन राम्रो बहाना भएको स्वीकारे पनि तीनै युवतीले पहिलो प्रस्ताव भने नराखेको दाबी गरे । 'उक्त दिन सबेरै आमाबाबु, घरपरिवार र साथीभाइहरुलाई भ्यालेन्टाइन विस गर्छौ,' तीनैजनाले एकै स्वरमा भने, 'भ्यालेन्टाइन मनाउन ब्वाइफ्रेन्ड नै हुनुपर्छ भन्ने पनि त छैन ।' भ्यालेन्टाइन डेटिङको अनुभव बटुलेका यिनलाई फेरि सोधियो- साथीभाइ र ब्वाइफ्रेन्डसँग भ्यालेन्टाइन मनाउँदा फरक के हुंदोरहेछ त ? प्रश्न फुत्किनासाथ तीनैजनाले मुखामुख गरे र हाँस्दै बोले, 'पार्टनर सँग मनाउँदाको फिलिङ्स त फरक भइहाल्छ नि ।'

भ्यालेन्टाइनका दिन बाहिर निस्कँदा घरकाले शंका गर्दैनन् ? 'ऊ (ब्वाइफ्रेन्ड) सँगै डेटिङ गयो भन्ने के थाहा हुन्छ र ?' सोनीले भनिन्, 'तर पनि यहाँ डेटिङका लागि नेपालमाजस्तो असजिलो छैन । काम र अध्ययनका लागि त्यसै पनि हामी प्रायः घरबाहिरै हुन्छौं ।' दीपा र ज्योतिलाई भने घरपरिवारले आफैले विचार पुर्‍याउन सुझाएका रहेछन् । 'अनुभव लिनुपर्छ तर सोचविचार गर्नु भन्नुभएको छ,' मम्मीका भनाइ उद्धृत गर्दै दुवैले भने ।

चकलेट सपमा कार्यरत बाइस बर्षीय रोमा घले भ्यालेन्टाइनका दिन 'लभ साइन' भएका चकलेटका माग अत्यधिक हुने बताइन् । भन्छिन्, 'कसैले ब्ल्याक चकलेट माग्यो भने उसको जोडी रहेनछ भन्ने थाहा हुन्छ ।' वरिपरि रहेकाले फेरि मुखामुख गरे ।


----------------------------------------------------------------------------------------------------------------------------------

तपाईंको प्रतिकृया  
पूरा नाम *
ठेगाना *
ईमेल ठेगाना *
प्रतिकृया *
  Please Verify
क्याप्चा *
कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
 
Copyright © 2009 - 2010 The Third Eye. All rights reserved.