नेदरल्यान्डस् र युरोपेली च्याम्पियन स्पेन सन् २०१०को विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा पुगिसकेका छन्। धेरै चर्चा भने विजेता टिमका खेलाडीको हैन जर्मनीको एउटा एक्वेरियममा राखिएको समुद्री जीवको भइरहेको छ।
यसअघिका विश्वकपमा जस्तो विजयी टिमको प्रशंसासहित र पराजित टिमको मूल्यांकन भइरहेको छैन। न त फाइनल खेलका बारेमा नै चर्चा भइरहेको छ। बरु, एक्वेरियममा रहेको अक्टोपसको भविष्यवाणीको चर्चा बढी भइरहेको छ। लाग्छ, यस विश्वकपको एक्लो विजयी पल नामको त्यही समुन्द्री जीव अक्टोपस नै हो।
एक्वेरियम निवासी पलले अहिलेसम्म विश्वकपमा गरेको भविष्यवाणी अचम्मसँग मिल्दैआएको छ। अक्टोपसको पछिल्लो भविष्यवाणी बुधबार राति (नेपाली समयअनुसार बिहिबार बिहान) जर्मनी र स्पेनबीचको सेमिफाइनल खेलमा स्पेनको जितसँगै सत्य साबित भएको छ।
म्याचअघि नै पलले पहिला जर्मनीको झण्डा भएको जारलाई छोए पनि लगत्तै स्पेनको जारमा गएर टासिएको थियो। त्यसपछि दोस्रो सेमिफाइनलको पूर्व सन्ध्यामा जर्मनीका प्रशंसक निराश भएको खबर अन्तर्राष्ट्रिय संचार माध्यमहरूले दिएका थिए।
त्यसअघि अर्जेन्टिनाविरुद्धको क्वाटरफाइनलमा जर्मनीको जितको भविष्यवाणी पलले गरेपछि धेरैले विश्वास गरेका थिएनन्। तर अर्जेन्टिनाले त्यस खेलमा ४ गोलको पराजय भोगेपछि भने धेरैको ध्यान अक्टोपसतर्फ गएको थियो।
अझ त्यस लज्जाजनक पराजयपछि केही अर्जेन्टिनी समर्थकले त अक्टोपसलाई मार्ने धम्की दिएको समाचार पनि आएको थियो। अर्जेन्टिनाको पराजयमा जर्मन खेलाडीभन्दा त्यही अक्टोपसको बढी हात भएजस्तो। मानौं, त्यही अक्टोपसले जर्मनीका तर्फबाट १२औं खेलाडीका रूपमा चारवटै गोल हिर्काएको थियो।
यसबाट पश्चिमा पनि हामीभन्दा कम अन्धविश्वासी छैनन् भन्ने साबित भएको छ। यस अन्धविश्वासले खेलाडीको परिश्रम र पसिनाको अवमूल्यन गरेको छ। अक्टोपसको भविष्यवाणी सँधै सत्य हुन्छ भन्ने मान्ने हो भने त अब कम्तीमा जर्मनी टिम सहभागी हुने प्रतियोगितामा रोमाञ्च समाप्त हुनेछ। कति गोल हुन्छ र कसरी हुन्छ भन्नेमा मात्र उतसुकता बाँकी रहनेछ। किनभने हारजितको फैसला त जर्मनीको एक्वेरियममा खेल अघि नै जो भई सक्नेछ।
पश्चिमा देशको विकासको प्रमुख कारण उनीहरूको विज्ञानप्रतिको विश्वासलाई मान्ने हामी अविकसित मुलुकका नागरिकका लागि अक्टोपस प्रकरण झनै आश्चर्यजनक हुन पुगेको छ। आखिरमा पश्चिमा पनि त अन्धविश्वासी हुँदारैछन्।
नेपालमा धामी झाक्रीलाई विश्वासमा लिएर दुर्गम क्षेत्रमा जनतालाई आधुनिक चिकित्सा पद्धतितर्फ आकर्षित गर्न केही वर्षअघि नेपालगञ्ज आएको एक विदेशी (केही अमेरिकी र केही युरोपेलीसहित) टोलीका सदस्यले विदेशमा पनि अन्धविश्वास गर्नेको कमी नभएको बताएका थिए। तिनले झारफुकमा विश्वास भए पनि उनीहरू उपचारका लागि पहिला आधुनिक चिकित्सा पद्धति अपनाउने र भएन भनेमात्र झारफुकका लागि जाने गरेको जानकारी दिएका थिए।
विश्व कपसम्बन्धी अक्टोपसको लगभग सबै भविष्यवाणी मिल्यो भन्दैमा त्यसमा भविष्य हेर्ने शक्ति भएको विश्वास गरिहाल्न नमिल्ने तर्क दिने पनि थोरै छैन। उनीहरूका अनुसार यस्तोमा मानसिक स्थितिले पनि धेरै असर पार्न सक्छ। अक्टोपस प्रकरण विश्वभर नै फैलिएकाले त्यसको जानकारी सहभागी टोलीलाई भएकै हुनुपर्छ। त्यसैको मानसिका असर केही न केही मात्रामा खेलाडी र टिममा परेको हुनसक्ने तर्क गरिएको पाइन्छ।
बुधबारको सेमिफाइनल खेलमा अक्टोपसको भविष्यवाणीविपरीत जर्मनी विजयी भएको भए के हुने थियो भन्ने प्रश्न पनि उठेको थियो। तर अन्धविश्वासलाई प्रोत्साहन दिनेहरूले त्यसको पनि जवाफ खोजी सकेका थिए। उनीहरूले युरोपियन च्याम्पियनसिपको फाइनलमा अक्टोपसले जर्मनीलाई जिताउने भविष्यवाणी गरे पनि स्पेनले जितेको हुनाले फाइनल खेलमा त्यसको भविष्यवाणी उल्टो हुने तर्क गरेका थिए। हुन पनि यस्तै तर्कले त अन्धविश्वासलाई जोगाएको हुन्छ।
अहिले एउटा अर्को चर्चा नेपालीबीच चलिरहेको छ। सत्ता प्राप्तिका लागि संविधान सभा भवनमा तँछाडमछाड गरिरहेका प्रमुख दलका मुख्य नेताको भविष्य प्रधानमन्त्री पद पाउने वा नपाउने भन्ने पत्ता लगाउन त्यही अक्टोपसको सहयोग लिने कि! जर्मनीमा भएको हुनाले त्यो एक किसिमको विदेशी सहयोग नै हुनेछ। वैदेशिक सहयोग भएपछि जे पनि स्वीकार गर्ने हाम्रो संस्कार पनि त छ

